२०८३ असोज, १० शनिबार

तेन्जिङ दावा लामाको जन्म दर्ता कागज नै नक्कली भएको आशंका

जन्म दर्ता कागज नै नक्कली भएको आशंका

हतियारसहितको फोटो र भिडियो सार्वजनिक भएपछि प्रहरी नियन्त्रणमा पुगेका ‘टिओबी’ समूहका नेता तेन्जिङ दावा लामाको जन्मदर्ता प्रमाणपत्र शंकास्पद देखिएको छ। नेपालमा ‘तिब्बतीयन ओरिजिनल ब्लड (TOB)’ नामक समूह बनाएर विभिन्न गतिविधि सञ्चालन गर्दै आएका लामा हाल प्रहरी अनुसन्धानमा छन्।

लामाले प्रहरीमा बुझाएको जन्मदर्तामा नेपाल सरकार र श्री ५ को सरकार दुवै छाप प्रयोग भएको पाइएको छ। उक्त प्रमाणपत्र २०६३ साल फागुन १० गते दर्ता भएको उल्लेख भए पनि त्यो मिति शनिबार परेको दिन भएकाले सरकारी कार्यालय बन्द हुने हुँदा त्यस दिन दर्ता कसरी भयो भन्ने विषयमा प्रहरीलाई शंका लागेको हो। एउटै प्रमाणपत्रमा दुई सरकारको छाप देखिनुले पनि नक्कली कागजातको आशंका थप बलियो भएको प्रहरीले जनाएको छ।

लामाको जन्मदर्तामा बुबा कृष्णबहादुर लामा र आमा माया लामाको नाम उल्लेख भए पनि ठेगाना उल्लेख गरिएको छैन। उनी २०५३ साल माघ २१ गते काठमाडौं–६ बौद्धमा जन्मिएको र २०६३ चैत १२ गते काठमाडौं महानगरपालिकामा दर्ता भएको देखिन्छ, जुन पनि शनिबार परेको मिति हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, बिजुलीबजारस्थित धोबीखोला पुलमा हतियारसहित खिचिएको भिडियो सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। बरामद हतियार परीक्षणका लागि पठाइएको र उनको साथबाट भेटिएका अन्य कागजात पनि शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

प्रहरीको आशंका अनुसार लामा नेपाली नागरिक नभई अर्को देशबाट आएर नक्कली कागजातमार्फत नेपाली नागरिकता लिएको हुनसक्छ। उनी नेपालमा रहेर ‘फ्रि तिब्बत’ आन्दोलनमा सक्रिय र चिन विरोधी गतिविधिमा संलग्न रहेको अनुमान गरिएको छ।

प्रहरी प्रवक्ता पवन भट्टराईका अनुसार, लामाको जन्मदर्ता, नागरिकता र अन्य प्रमाणपत्र परीक्षणका लागि स्थानीय वडामा पठाइएको छ। विवरण आएपछि मात्रै थप कारबाहीबारे निर्णय हुने उनले बताए। अदालतले लामामाथि अनुसन्धानका लागि प्रहरीले मागेको ६ दिनको म्याद स्वीकृत गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑