आउदै गरेको दसै
????आउँदै गरेको दशैं ????
दशैं आयो रमाइलो, घरआँगन सजाऊँ,
टाढा गएका आफन्त, यसपालि घर बोलाऊँ।
आकाशमा बादल हट्यो, घाम लाग्यो रमाइलो,
गाउँघरमा पिङ हालौँ, मन बनाऊँ रमाइलो।
बाबुआमाको मुहारमा, खुसी आज छाओस्,
परदेशीका पाइलाहरू, आफ्नै घरमा आओस्।
लिङ्गे पिङमा मच्चिँदै, बालापन फर्काऊँ,
दुःख–पीडा सबै बिर्सी, हाँसीखुसी रमाऊँ।
घरआँगन लिपपोत गरी, जमरा आज रोपौँ,
दुर्गा भवानी सम्झेर, श्रद्धाले शिर झुकाऊँ।
रातो टीका निधारमा, जमरा शिरमा सजोस्,
ठूला बडाको आशीषले, जीवन हाम्रो हँसोस्।
दशैं केवल पर्व होइन, भेटघाटको मेला,
माया बाँड्ने अवसर हो, सुखदुःखको बेला।
रिसराग सबै बिर्सेर, मन सफा बनाऊँ,
टुटेका ती सम्बन्धहरू, मायाले फेरि जोडाऊँ।
गरिबको पनि घरमा, खुसीको दीप बलोस्,
कसैको आँखाभित्र अब, दुःखको आँसु नझरोस्।
देशभित्र र परदेशमा, नेपाली सबै हाँसौँ,
दशैंको यो पावन बेला, मिलेर अघि बढौँ।
शान्ति छाओस् गाउँघरमा, सुख छाओस् देशमा,
समृद्धिको फूल फुलोस्, हरेक नेपाली मनमा।
आउँदै गरेको दशैंले, नयाँ आशा ल्याओस्,
हरेक घरको आँगनमा, खुसीको घाम छाओस्।
सुजन ढकाल
फेदाप गाउपालिका वडा न २ ओयाक्जुङ तेह्रथुम





प्रतिकृया दिनुहोस