२०८१ बैशाख, २० बिहीबार

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, उच्च अदालत जाने तयारी

सन्दीपलाई ३ लाख जरिवाना, पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद  सजायसहित ३ लाख जरिवाना भराउने फैसला भएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो ।

२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए ।

उच्च अदालत जाने तयारीमा

 काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताए । बुधवार काठमाडौँ जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्क गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै