२०८१ बैशाख, २० बिहीबार

गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट लगायतका १३ विदेशी कम्पनीले नेपालमा कर तिर्न थाले

नेपालमा गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्ससहितका १३ वटा कम्पनीले नेपालमा दर्ता भएर कर तिर्न थालेका छन् । ती कम्पनीहरुलाई नेपालमा सेवा दिएवापत हुने आम्दानीमा डिजिटल सेवा कर लाग्ने कानूनी व्यवस्था छ । 

ती कम्पनीहरुले सरकारलाई माघसम्मको भ्याट तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई कर लगाउने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको सुरु अर्थात् ०८० साउन १ गतेदेखि यी कम्पनीले कर तिर्न थालेका हुन् । नेपालमा दर्ता भएका विद्युतीय माध्यबाट सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय कम्पनीमा सिंगापुरको गुगल एसिया प्यासिफिक, लिंक्डइन, टिकटक, नेटफ्लिक्स,जोहो कर्पोरेसन र माइक्रोसफ्ट रिजनल सेल्स छन् । 

आयरल्याण्डको मेटा प्लेटफर्म (फेसबुक), गुगल आयरल्याण्ड र एडोब सिस्टम सफ्टवेयर आयरल्याण्ड नेपालमा दर्ता भएर कर तिर्न थालेको छ ।

विलमिङटन कन्ट्रि अफ न्यू क्यास्टलको इबीएससीओ इन्टरनेसनल, एमेजन डट कम सर्भिस, अमेजन वेभ सर्मिस र ब्लुमिङ्टनको इनसीएस पेयर्सन रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा कर असुल गर्ने नीति लिएको थियो । सो प्रावधान कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर सम्बन्धी कार्यविधि, २०७९ बनाएको थियो ।

कार्यविधिले सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवालाई विद्युतीय सेवा मानेको छ । जसमा विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोवाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्वीरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ-बुक, इ-पुस्तकालय, इ-पत्रिकालगायत सेवालाई राखिएको छ ।

कार्यविधि अनुसार नेपालभित्र सेवा प्राप्त गरेमा, नेपालको ठेगानामा बिजक जारी गरेमा वा नेपालको बैंकमा भएको बैंक खाता र रकम भुक्तानीका लागि अनुमति प्राप्त संस्था तथा निकायबाट सञ्चालन भएका भुक्तानी उपकरणबाट रकम भुक्तानी भएमा त्यस्तो रकममा कर लाग्छ ।

नेपालको बैंक तथा अनुमति प्राप्त भुक्तानी प्रदायक संस्था तथा निकायबाट जारी भएको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य भुक्तानीका माध्यमबाट भुक्तानी भएमा समेत यस्तो कर लाग्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै