२०८१ बैशाख, २० बिहीबार

पहिचान जोगाउन युवाको खाँचो छ : मन्त्री गुरुङ

शहरी विकास मन्त्री सीता गुरुङले तमुहरुको पहिचान स्थापित गर्नका लागि युवा पुस्ताले नेतृत्व लिनुपर्ने बताएकी छिन् । ‘सिनियरहरुको अनुभव र युवाको उत्साहलाई सँगै समेटेर लैजान नसके देशले फड्को मार्न सक्दैन । हाम्रो कला, भाषा, संस्कार र संस्कृतिको पुस्तान्तरण पनि हुँदैन,’ उनले भनिन्,  ‘संस्कृति र पहिचान लोप हुनसक्छ । भोलिका दिनमा हाम्रो पहिचानलाई स्थापित गर्नका लागि नयाँ पुस्तालाई सँगै डोहोर्याएर लैजानु आवश्यक छ ।

’पोखरामा तमु धीं नेपालको महाधिवेसनलाई सम्बोधन गर्दै उनले युवाहरु विस्तारै विदेशिने क्रम बढेको भन्दै त्यसलाई रोक्न सबै मिलेर लाग्नुपर्ने बताइन् । ‘युवामा भविष्य विदेशको भुमिमा मात्रै छ भन्ने मुल्य र मान्यता बनेको छ । यसलाई चिर्न सक्नुपर्छ,’ उनले अघि भनिन्, ‘मातृभूमिमा सपरिवार बसेर देश बनाउन लाग्नुपर्छ । तमु धींले युवा र महिलालाई एकताबद्ध बनाउन अभियान चालोस् ।’ देशको व्यवस्था परिवर्तन भएपनि अवस्थामा सुधार नआएकोले साझा संकल्प गरेर काममा ध्यान दिनुपर्ने उनले बताइन् । गुरुङले तमु समुदायमा विभिन्न संघ संस्थाका नामबाट विभाजन बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

‘हामी कता जाँदै छौं ? तमु धिंले सिंगो संस्थालाई कता डोहोर्याउने हो ? हाम्रो पहिचान हराउँछ कि भन्ने चिन्ता छ,’ उनी भन्छिन्, ‘हिजो राजाको पालामा फुटाउ र राज गर भन्ने नीति थियो । अहिले आज हाम्रै कारणले हामी फुट्ने अवस्थामा छौं । हामीले लडेर ल्याएका अधिकार संस्थागत गर्नका लागि जुटेर मात्रै सम्भव छ ।’पोखराको विकास र समृद्धीका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनको प्रतिबद्धता छ । ‘पोखरा प्रदेशको राजधानी हो । पर्यटनको राजधानी हो । अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको छ । तर पोखरा व्यवस्थित हुन सकेको छैन,’ तमु समुदायलाई उनले भनिन्, ‘हामी त हङकङ, यूके, सिंगापुरको व्यवस्थित शहर हेरेर आएका छौं । पोखरालाई व्यवस्थित गर्न तपाईंहरुले पनि सहयोग गर्नुपर्छ ।’(रातोपाटी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै