२०८१ जेठ, ४ शुक्रबार

साहित्य संगम आठराईद्वारा वृहत साहित्यिक कार्यक्रम सम्पन्न

केशु विरहीको तेह्रथुम जिल्लाको इतिहास कृतिको लोकार्पण

तुलसी सिटौला(आठराई)

साहित्य सङ्गम आठराईको आयोजनामा आठराईको संक्रान्ति बजारमा आज बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । आठराई गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रममा केशु विरहीद्वारा  लिखित तेह्रथुमको साहित्यिक इतिहासको गृह जिल्ला लोकार्पण समेत  भएको थियो । 

प्रिबुकिङ गर्ने आठराईका साहित्यप्रेमीले उक्त पुस्तक आज नै प्राप्त गर्नु भयो। साहित्य सङ्गम आठराईको प्रकाशनमा प्रकाशीत उक्त पुस्तक नेपाल प्रज्ञा प्रतिस्ठान काठमाडौमा  फागुन ६ गते सहरी विकास मन्त्री माननीय सिता गुरूङद्वारा  लोकार्पण भएको  थियो । 

आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आतिथ्यता, उपाध्यक्ष बलिराज इङ्नामको विशेष आतिथ्यता, सर्जक केशु विरही विशेष अतिथि रहेको उक्त कार्यक्रममा आठराई गाउँपालिकाका सातवटै वडाका वडाध्यक्षहरू र सदस्यहरुको पनि आतिथ्यता रहेको थियो । तेह्रथुम बहुमुखी क्याम्पसबाट गणेश विमली, चक्रपाणी भट्टराई र पूर्णिमा रोक्का तथा ह्यत्रुङ झरना क्याम्पसका क्याम्पस प्रमुख तेजबहादुर फोम्बो सहायक क्याम्पस प्रमुख खगेन्द्र खत्री तथा प्राध्यापक उमनाथ भण्डारीको उपस्थिती रहेको उक्त कार्यक्रममा त्रिमोहन माविका प्रअ चिन्तामणि उप्रेती, भगवती मावि प्रअ प्रेमप्रकाश लामिछाने, नेपाल शिक्षक महासंघ तेह्रथुम अध्यक्ष अभिनारायण पराजुलीको उपस्थिति रहेको  थियो ।

शारदा माविकी शिक्षक दिलकुमारी बुडाथोकी र भगवती माविका शिक्षक चलनचन्द्र कन्दङ्वाले पुस्तकको  समीक्षा गर्नु भयो । ठूलो मिहिनेतका साथ ४५० पृष्ठको  यो पुस्तक तयार गरेको  लेखक केशु विरहीको समीक्षकद्वयले खुलेर प्रशंसा गर्नुभयो । केही भाषिक त्रुटि, लामो छोटो  विवरण, केही इतिहासमा छुट्न पुगेका विषयवाहेक यस कृतिमा कुनै कमजोरी नरहेको  समीक्षकले बताउनु भयो।

नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष अभिनारायण पराजुलीले आठराईमा साहित्यिक कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले गरेको सहयोगको खुलेर प्रशंसा गर्नु भयो । वडाध्यक्ष प्रेमराज फोम्बो केशु विरहीको मेहनतको प्रशंसा गर्दै साहित्य सङ्गम आठराईले पुस्तकको प्रकाशकको भूमिका निर्वाह गरेको शुभकामना दिनु भयो । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले विद्यार्थीहरूको सहभागिता सहित साहित्यिक कार्यक्रम आयोजना गरेकोमा साहित्य सङ्गमको  प्रगतिको  कामना गर्नुभयो । तेह्रथुमको साहित्यिक इतिहास आठराईका सबै विद्यालयलाई एकएक प्रति खरिद गरीदिने प्रतिबद्धता साथ केशु विरहीलाई हैसला स्वरुप १० प्रति पालिकाको तर्फबाट खरिद गरी दिनुभयो ।

आठराईमा विगत वर्षहरूबाट नै साहित्यिक गतिविधिहरूमा तीव्रता आइरहेको तथा यस वर्ष संगम सुधा, प्रलेस तेह्रथुम, प्रणयन र आठराई कोशेली प्रकाशन गर्न दुई लाखका दरले रकम विनियोजित गरेको  कुरा गाउँपालिका अध्यक्षले बताउनु भयो। प्रलेस तेह्रथुमका पदाधिकारी, आठराई गाउँपालिका स्तरीय साहित्य सुदृढीकरण समितपका पदाधिकारीहरू समुपस्थित  रहेको  यस कार्यक्रममा तेह्रथुमको  साहित्यिक इतिहासका लेखक अनुसन्धाता केशु विरहीले आफ्नो  मिहिनेत र अथक प्रयाले यो पुस्तक तयार भएको र सबैले कम्तिमा एक प्रति खरिद गरि सहयोग गरि दिन अनुरोध  गर्नु भयो । 

साहित्यकार भीम  घिमिरे, कृष्णप्रसाद थपलिया, गरुढध्वज कन्दङ्वा तथा समाजसेवी खडानन्द बरालसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुको लघुकथा वाचन कार्यक्रममा १२ जना छात्रछात्राले निकै मर्मस्पर्शी लघुकथा सुनाएका थिए । जसमा त्रिमोहन माविकी लक्ष्मी दास प्रथम, केलिङ आविका सविन इङ्नाम द्वितीय, महेन्द्र माविकी मेघा लिम्बू तृतीय र सरस्वती माविकी सञ्जिला तामाङले सान्तवना स्थान हासिल गरी पुरस्कृत हुनुभयो। गाोपी मिश्रको स्वागत मन्तव्य तथा साहित्यकार कृष्णप्रसाद थपलियाको शुभकामना मन्तव्यसहित शुरु भएको बृहत् साहपत्यिक कार्यक्रमको सभापतित्व साहित्य सङ्गम आठराईका अध्यक्ष राजन तिम्सिनाले गर्नु भएको थियो । 

पुस्तक प्रकाशन गरी तेह्रथुमको साहित्यिक दुनियाँमा नाम राख्न सफल  साहित्य सङ्गम आठराईलाई सबैले माया र हौसला  दिन आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै